बेइजिङ । चीनले आफ्नो वित्तीय क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे गम्भीर अध्ययन सुरु गर्ने भएको छ । देशको सर्वोच्च विधायिकाको स्थायी समितिको जारी बैठकमा पेस गरिएको प्रतिवेदनले यस्तो संकेत गरेको हो ।
प्रतिवेदनअनुसार यस पहलको मुख्य लक्ष्य वित्तीय निगरानी प्रणालीलाई अझ बलियो बनाउनु र वास्तविक अर्थतन्त्रसम्म वित्तीय सेवाको पहुँच बढाउनु हो । राज्य परिषद्ले तयार पारेको उक्त प्रतिवेदनमा आगामी दिनमा वित्तीय क्षेत्रका लागि पाँचवटा प्राथमिकता तोकिएका छन् । लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिने, वित्तीय नियमनलाई प्रभावकारी बनाउने र वास्तविक अर्थतन्त्रका लागि वित्तीय सेवा विस्तार गर्ने विषय तीमध्ये प्रमुख छन् ।
पर्याप्त तरलता कायम राख्न चीनले विभिन्न नीतिगत उपकरणको व्यापक प्रयोग गर्ने र मौद्रिक नीतिको संरचनाको नियमित मूल्याङ्कन गर्दै आवश्यकताअनुसार सुधार गर्ने उल्लेख प्रतिवेदनमा छ । वित्तीय नियमनलाई थप कडा बनाउँदै गैरकानुनी वित्तीय गतिविधिविरुद्ध कठोर कारबाही गर्ने, वित्तीय व्यवस्थापन तथा सेवामा एआईको प्रयोगबारे अध्ययन गर्ने र वित्तीय उपभोक्ताको हित संरक्षणलाई मजबुत बनाउने योजना पनि समेटिएको छ ।
यसका साथै पूर्वाधार निर्माण, प्राविधिक आविष्कार र साना व्यवसायलाई वित्तीय सहयोग बढाउने लक्ष्य राखिएको छ । चिनियाँ मुद्रा युआनको अन्तर्राष्ट्रिय प्रयोग विस्तार गर्ने, थप विदेशी वित्तीय संस्था तथा दीर्घकालीन पुँजी भित्र्याउने र स्वतन्त्र रूपमा नियन्त्रित सीमापार युआन भुक्तानी प्रणाली विकास गर्ने विषयमा पनि प्रतिवेदनले जोड दिएको छ ।
वित्तीय जोखिम कम गर्न पुँजी बजारलाई सहयोग पुर्याउन मौद्रिक नीतिका उपकरण प्रयोग गरिने र घरजग्गा क्षेत्रमा लागू गरिएको ‘ह्वाइट लिस्ट’ संयन्त्रलाई निरन्तरता दिइने उल्लेख छ ।
प्रतिवेदनका अनुसार सन् २०२५ को अक्टोबरदेखि सन् २०२६ को सेप्टेम्बरसम्म वास्तविक अर्थतन्त्रमा प्रवाह भएको नयाँ वित्तीय लगानी ३३ ट्रिलियन युआन (करिब चार दशमलव नौ ट्रिलियन अमेरिकी डलर) पुगेको छ । सोही अवधिमा साङ्घाई र सेन्जेन स्टक एक्सचेन्जमा ८८ कम्पनी सूचीकृत भएका छन्, जसमध्ये करिब ९० प्रतिशत उच्च प्रविधि क्षेत्रका कम्पनी छन् ।
