झापा । गत वर्ष सानो माईखोलामा आएको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा धानखेत बगाएर बालुवाको बगर बनाइदियो। उर्वर खेत बगरमा परिणत भएपछि उनी निकै चिन्तित भए। तर हार नमानी उनले त्यही बगरमा केही नयाँ खेती गर्ने उपाय खोजे। सोधीखोजी गर्दा बालुवायुक्त जमिनमा बदाम राम्रोसँग फल्ने थाहा पाएपछि उनी उत्साहका साथ नयाँ खेतीमा लागे।
सुरुमा भारतीय बजारबाट १० केजी बदामको बीउ ल्याएर उनले पाँच कट्ठा क्षेत्रफलमा परीक्षण खेती गरे। बाली राम्रो भएपछि उनले खेती विस्तार गर्दै अहिले दुई बिगाहा क्षेत्रफलमा बदाम लगाएका छन्। यसपटक उनको खेतमा २० क्विन्टल बदाम फलेको छ। बजारमा उक्त बदाम प्रतिकेजी १०४ रुपैयाँका दरले बिक्री भइरहेको छ।
जेठ महिनामा रोपिएको बदाम कात्तिक महिनामा फलेपछि अहिले उनलाई बाली भित्र्याउने चटारो छ। धान वा अन्य परम्परागत बालीभन्दा बदामखेतीबाट राम्रो आम्दानी हुने उनको अनुभव छ।
पहाडी क्षेत्रमा हुँदै आएको बदामखेती तराईमा फस्टाउनु अनौठो मानिएको छ। झापा गाउँपालिकाकी कृषि प्राविधिक रिता बर्देवाका अनुसार खुकुलो, हलुका र बलौटे–दोमट माटो भएकाले तराईको न्यानो मौसम बदाम उत्पादनका लागि उपयुक्त छ। स्वादका लागि मात्र नभई स्वास्थ्यका दृष्टिकोणले पनि बदाम अति नै गुणकारी मानिन्छ।
