काठमाडौँ — हिन्दु धर्मग्रन्थका पात्रहरूलाई गलत ढङ्गले देखाइएको भन्दै विवादमा परेको नयाँ नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृहमन्त्रीले मौखिक निर्देशन दिएका छन्। गृह मन्त्रालयको आग्रहपछि सूचना तथा सञ्चार मन्त्रालयले प्रदर्शन रोक्ने प्रक्रिया अघि बढाउने भएको छ।
सञ्चार मन्त्रालयका एक कर्मचारीका अनुसार गृहमन्त्रीबाट अहिलेलाई प्रदर्शन रोक्न मौखिक खबर आएको छ। उनले भने, ‘यस विषयमा भोलि औपचारिक प्रक्रिया अगाडि बढ्छ।’
चलचित्रका केही दृश्यलाई लिएर सामाजिक सञ्जाल र धार्मिक क्षेत्रमा चर्को आलोचना भइरहेको छ। हिन्दु धर्मसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले पाँच पाण्डव र द्रौपदीलाई गलत रूपमा चित्रण गरिएको भन्दै सञ्चार मन्त्रालयमा ज्ञापनपत्र बुझाएर प्रदर्शन रोक्न माग गरेका थिए। विशेषगरी द्रौपदीलाई बारमा नचाइएको दृश्यलाई लिएर आपत्ति जनाइएको छ।
रोचक पक्ष के छ भने चलचित्र जाँच समितिले आज बिहान मात्रै यो चलचित्रलाई सबै उमेर समूहले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र दिँदै प्रदर्शनको अनुमति दिएको थियो।
कात्तिक २० गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा हरिवंश आचार्य, आर्यन सिग्देल र जितु नेपाललगायत कलाकारको मुख्य भूमिका छ।
