काठमाडौँ । पछिल्लो समय देखिएका राजनीतिक घटनाक्रमबारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । विचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्ध रहेको आरोप र प्रहरी प्रमुख फेरबदलको विषयमा पार्टीको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ ।
असोज २३ गते यता पार्टीले पछिल्लो विकसित घटनाक्रममाथि छलफल गर्न कुनै आन्तरिक बैठक बोलाएको छैन । नेताहरूका अनुसार औपचारिक बैठक नबसे पनि पार्टीभित्र अनौपचारिक रूपमा छलफल भने भइरहेको छ ।
नेता देवेन्द्र पौडेलले औपचारिक बैठकको मिति तय नभएको बताए । उनी अहिले पार्टी कामको सिलसिलामा जिल्लामा रहेका छन् । पौडेलले बैठक बस्ने सम्भावना रहेको उल्लेख गरे ।
अर्का नेता रामकुमार भट्टराईले बैठक बोलाउने विषयमा आन्तरिक छलफल भइरहेको जानकारी दिए । उनका अनुसार भोलि वा पर्सिसम्ममा केन्द्रीय संयोजन समितिको बैठक बस्न सक्नेछ ।
भट्टराईले सरकारले प्रहरी महानिरीक्षक फेरबदल गर्दा गरेको निर्णयलाई पुराना दुई निर्णयको मिश्रणका रूपमा व्याख्या गरे । उनका अनुसार अहिलेको निर्णय २०५३ सालमा लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकार र २०६४ सालमा प्रचण्ड नेतृत्वको सरकारले गरेका निर्णयसँग मिल्दोजुल्दो छ ।
यसैबीच नेकपाले घोषणा गरेको राष्ट्रिय जागरण अभियानलाई तिहारपछि जिल्ला र पालिका तहसम्म विस्तार गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन् । अहिले पार्टी प्रदेशस्तरीय आन्तरिक प्रशिक्षण तथा विस्तारित बैठकमा सक्रिय रहेको छ ।
