चितवनमा बिहीबार राति सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी र सरकारबीच समन्वयमा कुनै कमी नरहेको बताएका छन्। पार्टीले सरकारलाई स्वतन्त्र ढंगले काम गर्न दिने नीति लिएको उनको भनाइ थियो।
सरकारका कामकारबाहीबारे आवश्यकताअनुसार छलफल गर्ने, सुझाव दिने र निर्णयको स्पष्टता माग्ने अभ्यासलाई पार्टीभित्रको असमझदारीका रूपमा बुझ्न नहुने लामिछानेले बताए। ‘समन्वयको कुनै पनि कमी छैन। सरकारलाई मजाले काम गर्न दिनुपर्छ भन्ने पार्टीको धारणा हो,’ उनले भने।
सरकार टिकाउन वा पार्टीभित्र एकता कायम राख्न प्रधानमन्त्रीसँगै अर्को व्यक्तिलाई समानान्तर भूमिकामा राख्ने अभ्यास आफ्नो पार्टीले नगर्ने उनले स्पष्ट पारे। पार्टी र सरकारले आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्ने उनको भनाइ थियो।
सरकारका निर्णयमा प्रश्न उठेमा पार्टीले स्पष्टता माग्नु स्वाभाविक भएको उल्लेख गर्दै उनले सबै निर्णयमा पार्टीले समर्थन जनाउनुपर्ने बाध्यता नरहेको बताए। निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हुने उनको भनाइ थियो।
प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरलगायत विषयमा पार्टीले सरकारसँग स्पष्टता मागेको प्रसङ्गमा लामिछानेले सुरक्षा निकायसँग सम्बन्धित निर्णय संवेदनशील हुने भएकाले सरकारले आवश्यक समयमा त्यसको औचित्य पुष्टि गर्ने बताए। सरकारका कामकारबाहीमा सुधार आवश्यक देखिए पार्टीले खबरदारी गर्ने उल्लेख गर्दै उनले त्यसलाई पार्टी र सरकारबीचको विवादका रूपमा व्याख्या नगर्न आग्रह गरे।
लोकतान्त्रिक मूल्य र मान्यताअनुसार सरकारलाई सही बाटोमा अघि बढाउन पार्टीले भूमिका खेल्ने उनको भनाइ थियो। त्यस्तै, राज्यका निकायलाई संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्न दिनुपर्ने धारणा राख्दै उनले प्रहरी प्रशासन, अदालत, प्रेस काउन्सिल र राष्ट्रिय मानवअधिकार आयोगजस्ता संस्थालाई बलियो बनाउनुपर्ने बताए। अनुसन्धानलगायत विषयमा संस्थागत प्रक्रियामाथि विश्वास गर्नुपर्ने उल्लेख गर्दै उनले कुनै निकायबाट गलत काम भए त्यसलाई सच्याउने व्यवस्था रहेको बताए।
