नेपाल–भारत सीमा क्षेत्रमा तस्करीको शैली बदलिएको छ। मोरङको सीमावर्ती क्षेत्रमा ठूला ट्रक र कन्टेनरमा एकमुष्ट सामान छिराउने पुरानो तरिका छाडेर तस्करहरूले अहिले राज्यको प्रशासनिक र राजस्व प्रणालीमै रहेका छिद्रलाई हतियार बनाएका छन्।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार तस्करहरूले अहिले थोरै–थोरै सामान धेरै मानिसमार्फत झोला र पोकामा छिराएर गोदाममा जम्मा गर्ने र बिल काटेर पठाउने शैली अपनाएका छन्। जोगबनी नाका वारपार सयदेखि डेढ सय जना महिला, विपन्न नागरिक र बालबालिका दिनभर तस्करका सामान ओसारिरहेको भेटिन्छन्। एउटै व्यक्तिले बिहानदेखि साँझसम्म २० पटकसम्म सीमा वारपार गर्छ, र प्रत्येक पटक कम्तीमा पाँच हजार रुपैयाँभन्दा माथिको सामान ओसारिन्छ। दैनिक सयौँ भरियामार्फत हुने यो ‘माइक्रो–स्मग्लिङ’ले महिनामा करोडौँको राजस्व चुहावट गराइरहेको छ।
पुरानो भन्सार लिलामीका कागजातको दुरुपयोग पनि अर्को जुक्ति बनेको छ। मोरङमा नियन्त्रणमा लिइएको काजुका ओसारपसारकर्ताले सर्लाहीको मलंगवा भन्सारबाट सन् २०२५ को मार्चमा लिलामी सकारेको प्रज्ञापनपत्र देखाए, तर बोरा खोलेर हेर्दा भित्रका कार्टुनमा भारतको अररियामा सन् २०२६ को जनवरीमा उत्पादन भएको मिति छापिएको थियो।
राजस्व प्रणालीभित्रैको कमजोरी अझ गम्भीर देखिएको छ। आन्तरिक राजस्व विभागले २०७९ साल भदौ २१ गते कर नतिरेको भन्दै एउटा व्यापारिक फर्मको भ्याट दर्ता निलम्बन गरिदिएको थियो। कानुनअनुसार उक्त फर्मले कुनै पनि कारोबार गर्न पाउँदैनथ्यो। तर तस्करहरूले त्यही निलम्बित फर्मको नाममा भ्याट बिल काटेर राजस्व अनुसन्धान विभागको भीसीटीएस प्रणालीमा समेत सजिलै प्रविष्टि गराएका थिए।
तस्करीको कारोबार ‘ठेक्का प्रणाली’मा चल्छ। सीमा कटाउने जिम्मा ‘क्यारियर’ अर्थात् बिचौलिया ढुवानीकर्ताको हुन्छ, जसले सामान उठाउनुअघि साहुलाई बैंक चेक, नगद वा सम्पत्ति धरौटी राख्नुपर्छ। बाटोमा सामान समातिए सम्पूर्ण घाटा क्यारियरकै टाउकोमा पर्छ, जसलाई सीमा क्षेत्रको भाषामा ‘गल्ला जानु’ भनिन्छ।
उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुरानाले नेपालीहरूले दैनिक १५ करोड रुपैयाँको मालवस्तु जोगबनी गएर किन्ने र १२ प्रतिशत जीएसटी अर्थात् दैनिक १ करोड ८० लाख रुपैयाँभन्दा बढी भारत सरकारको खातामा जाने बताए। सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले मोरङ प्रशासनको अबको लक्ष्य क्यारियर होइन, लगानीकर्ता अर्थात् ‘इन्भेस्टर’ लाई पक्राउ गर्ने रहेको बताएका छन्।
