वीरगञ्ज महानगरपालिकाको सोलार पोलमा विज्ञापन बोर्ड जडान गर्ने ठेक्काको बोलपत्रमा केरमेट भेटिएपछि विवाद चुलिएको छ। बोलपत्रमा सुरुमा ४५ लाख रुपैयाँ उल्लेख गरिएकोमा पछि त्यसलाई केरेर ५४ लाख बनाइएको पाइएको हो। तर फारमको तल अक्षरमा भने रकम ‘पैतालिस लाख’ नै लेखिएको छ।
महानगरले गत भदौ २७ गते आन्तरिक आय ठेक्काअन्तर्गत सोलार पोलमा विज्ञापन बोर्ड जडानका लागि गोरखापत्र दैनिकमा ३० दिने सूचना प्रकाशन गरेको थियो। १८ लाखदेखि ५४ लाख रुपैयाँसम्मका सातवटा ठेक्कामा कम्पनीहरूले आवेदन दिएका थिए। उच्चतम अंक कबोल गर्ने कम्पनीहरूको छोटो सूची कात्तिक १७ गते सार्वजनिक गरिएको थियो।
बोलपत्रमा केरमेट भेटिएको कम्पनी पुनम आर्टस हो। अङ्कमा रकम बढाएर ५४ लाख बनाइएको र अक्षरमा भने ४५ लाख नै रहेकाले कुन रकमलाई आधार मान्ने भन्ने गम्भीर प्रश्न उठेको छ। अन्य आवेदकले यस विषयमा आपत्ति जनाएका छन्। आवेदनकर्ता आफैँले केरमेट गरेको हो वा महानगरभित्रका कर्मचारीको मिलेमतोमा भएको हो भन्ने पनि प्रश्न उठेको छ।
महानगरको राजस्व महाशाखाका प्रमुख सुनिल आचार्यले टेन्डर खोल्दा केरमेटको विषय मुचुल्कामा उल्लेख गरिएको दाबी गरेका छन्। मूल्याङ्कन समितिले कबोल रकम ५४ लाखलाई सारभूत रूपमा प्रभावकारी ठहर गर्दै पुनम आर्टसको बोलपत्र स्वीकृतिका लागि सिफारिस गरेको मुचुल्कामा उल्लेख छ।
तीन वर्षका लागि २३० वटा सोलार पोलमा विज्ञापन बोर्ड राख्ने यो ठेक्काको न्यूनतम रकम १० लाख ३५ हजार रुपैयाँ तोकिएको थियो। महानगर र पुनम आर्टसबीच सम्झौता हुन भने बाँकी छ। सरकारी ठेक्कामा सेटिङको आशंका सार्वजनिक हुँदै आएको र सङ्घ सरकारले भर्खरै सुनकोशी मरिन डाइभर्सन आयोजनाको ठेक्का रद्द गरेको पृष्ठभूमिमा यो विवादप्रति चासो बढेको छ।
