तिहारको अवसर पारेर शुक्रबारदेखि नेपाली फिल्म ‘पाँच पाण्डव’ प्रदर्शनमा आएको छ। यो साता प्रदर्शनमा आएको एकमात्र नेपाली फिल्म यही हो, जसले नेपाली फिल्महरूतर्फ एकल प्रदर्शनको अवसर पाएको छ।
यद्यपि फिल्मले देशभरका हल एक्लै पाएको छैन। अघिल्ला साताहरूमा प्रदर्शनमा आएका ‘कबड्डी’, ‘छ माया छपक्कै २’, ‘आबाट आमा २’ लगायत केही नेपाली र विदेशी फिल्म ‘रामायण’ पनि अझै प्रदर्शनमा छन्।
प्रदर्शनअगाडि विभिन्न विवाद भोगेको यो फिल्म वसन्त निरौलाले निर्देशन गरेका हुन्। फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेललगायत कलाकारको मुख्य भूमिका छ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। काली रानी श्रेष्ठ निर्माता रहेको फिल्मको कथा, पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले लेखेका हुन्। फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले वितरण गरेको हो।
