काठमाडौँको बबरमहलमा निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ। सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई ध्यानमा राखेर यो पुल निर्माण गरिएको हो। पुल खुलेपछि पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न पाउनेछन्।
सडक डिभिजन कार्यालय, काठमाडौँका अनुसार पुल निर्माणको भौतिक प्रगति अन्तिम चरणमा पुगेको छ। केही दिनभित्रै सर्वसाधारणका लागि पुल खुला गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ। पुल सञ्चालनमा आएपछि सडक दुर्घटना घटाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पुल निर्माणको सम्झौता २०८२ साल फागुन २१ गते भएको थियो। त्यसयता निर्माण कार्य अघि बढेको हो। यसै हप्ताभित्रै पुल पैदलयात्रुका लागि सञ्चालनमा ल्याउने तयारी रहेको सडक डिभिजन कार्यालय, काठमाडौँका प्रमुख सुबोध देवकोटाले बताए।
पुल निर्माणका लागि दुई करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ लागत निर्धारण गरिएको थियो। निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वक्र्स प्रालिले पाएको सडक डिभिजन कार्यालयले जनाएको छ।
