दसैँको रौनकसँगै अर्घाखाँचीका शक्ति पीठ र भगवती मन्दिरहरूमा सराये नाचको लय गुञ्जिन थालेको छ। हातमा तरवार र खुँडा बोकेर पञ्चेबाजाको तालमा नाच्ने यो परम्पराले जिल्लाको मौलिक सांस्कृतिक पहिचान झल्काउँछ। नाचका क्रममा सहभागीहरूले ‘वाख्यै भाइ हो’ भन्दै उत्साह थप्ने गर्छन्।
बडादसैँमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म फरक-फरक दिनमा सराये नाच्ने चलन छ। यो नाच आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको खुसियालीमा नाचिने परम्परा रहेको बताइन्छ। महिला र पुरुष दुवैले तरवार, खुँडा लगायत परम्परागत हतियार प्रदर्शन गर्दै पञ्चेबाजाको तालमा नाच्छन्। देवीको प्रतीकका रूपमा आलम पनि नाचमा सहभागी गराइन्छ।
अर्घा भगवती मन्दिर र अर्घा दरबारलाई सराये नाचको उद्गमस्थल मानिन्छ। अर्घाको सराये पञ्चाङ्ग पात्रोमा समेत समेटिएको छ र यो नेपालकै चर्चित सांस्कृतिक नाचमध्ये एक भएको अर्घा भगवती मन्दिर तथा दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताए।
नाचको तालिका पनि निश्चित छ। एकादशीका दिन सन्धिखर्कमा, द्वादशीका दिन शीतगङ्गाको ठाडा र भूमिकास्थानको ढिकुरामा, त्रयोदशीका दिन सन्धिखर्कको खाँचीकोट र भूमिकास्थानको ताराखसेमा, चतुर्दशीका दिन मालारानीको रागामारे र सन्धिखर्कको कुरमा तथा कोजाग्रत पूर्णिमाका दिन अर्घा भगवती मन्दिर र अर्घा दरबारमा सराये नाचिन्छ। बडादसैँबाहेक चैतेदसैँमा पनि यो नाच प्रदर्शन गरिन्छ।
सन्धिखर्क नगरपालिका–७ खाँचीकोटका वडाध्यक्ष चुराबहादुर केसीका अनुसार सरायेले धार्मिक आस्था र सांस्कृतिक गौरवलाई प्रतिबिम्बित गर्छ। पाणिनी बहुमुखी क्याम्पसका प्राध्यापक तथा साहित्यकार माधवराज चुँदालीले आलमसहित नाच्दा देवी प्रसन्न हुने धार्मिक मान्यता रहेको बताए। अर्घाखाँचीका सांसद हरिप्रसाद भुसाल र सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले सरायेलाई सामाजिक एकता र सद्भावको प्रतीकका रूपमा चित्रण गरे। आधुनिकताको प्रभावमा मौलिक परम्परा ओझेल पर्दै गएका बेला सरायेको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणले जिल्लाको पहिचान राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने देखिन्छ।
