नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु हुनै लाग्दा क्रिकेटप्रेमीका लागि पोखरा र भक्तपुरमा छुट्टै व्यवस्था गरिएको छ। पोखरा एभेन्जर्सले यी दुई सहरमा आधिकारिक फ्यान पार्क सञ्चालन गर्ने भएको छ, जहाँ समर्थकले ठूलो पर्दामा खेलको प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन्।
पोखरामा हल्लनचोकस्थित क्याम्पिड चौर र भक्तपुरमा सल्लाघारीस्थित नेवा ननीमा फ्यान पार्क रहनेछन्। सोमबारदेखि यी दुवै ठाउँमा प्रतियोगिताका खेल हेर्न सकिनेछ। उद्घाटनको दिन दुवै स्थानमा प्रवेश निःशुल्क राखिएको छ। त्यसपछि प्रवेशका लागि एक्सपेरियन्स कुपन लिनुपर्नेछ, जसका लागि कम्तीमा चार सय उनान्नब्बे रुपैयाँको खरिद गर्नुपर्ने व्यवस्था छ। एक जनाले एउटै अर्डरमा बढीमा १० वटा प्रवेश बुक गर्न पाउनेछन्।
फ्यान पार्कमा प्रतियोगिताका सबै खेल ठूलो एलईडी पर्दामा देखाइनेछ। खेल हेर्नुका साथै समर्थकले संगीत, खानपान, विभिन्न खेल गतिविधि र पारिवारिक क्षेत्रको सुविधा पनि पाउनेछन्। यसले गर्दा रंगशाला पुग्न नसक्ने समर्थकले पनि सामूहिक माहोलमै खेलको मजा लिन सक्नेछन्।
टोलीका अनुसार फ्यान पार्कको उद्देश्य पोखरा र भक्तपुरका समर्थकलाई एउटै ठाउँमा भेला भएर आफ्नो टोलीलाई समर्थन गर्ने अवसर दिनु हो। समर्थकले टोलीको आधिकारिक एपमार्फत खेल तालिका, अंकतालिका र खेलको नतिजाबारे अनुमान गर्ने सुविधा पनि पाउनेछन्।
