भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडो झन्डै एक वर्ष लामो निर्वासनपछि आइतबार आफ्नो देश फर्किएकी छन्। राजधानी काराकसमा उनको आगमनसँगै हजारौँ समर्थक सडकमा उत्रिएका थिए। उनीहरूले देशको झण्डा हल्लाउँदै स्वतन्त्रताको पक्षमा नारा लगाएका थिए।
मचाडोको यो फिर्तीलाई राजनीतिक परिवर्तनको चरणबाट गुज्रिरहेको भेनेजुएलाका लागि महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ। उनका समर्थकहरूले छिटो निर्वाचन गराउन माग गरिरहेका छन्, तर अन्तरिम सरकारले अहिलेसम्म मतदानको मिति घोषणा गरेको छैन।
गत डिसेम्बरमा नोबेल पुरस्कार लिन उनी देशबाहिर गएकी थिइन्। त्यसयता स्वदेश फर्कने उनका कम्तीमा सातवटा प्रयास सफल हुन नसकेको उनको पार्टीले जनाएको छ।
यसैबीच, उनका प्रमुख राजनीतिक प्रतिद्वन्द्वी पूर्वराष्ट्रपति निकोलस मदुरो नौ महिनाअघि अमेरिकी सैन्य कारबाहीमा पक्राउ परेका थिए र हाल अमेरिकाको जेलमा छन्। त्यसपछि उनका सहयोगी डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी थिइन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मचाडोको फिर्तीका बारेमा आफू अनभिज्ञ रहेको बताएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने वार्तामार्फत भेनेजुएलामा स्वतन्त्र र निष्पक्ष निर्वाचन तथा दिगो लोकतन्त्र स्थापना गर्ने अवसर रहेको बताएका छन्।
मचाडोको पार्टीले सन् २०२७ मा निर्वाचन गराउन र उनलाई राष्ट्रपति पदको प्रतिस्पर्धामा भाग लिन दिन माग गरेको छ। निर्वाचनपछिको दमनमा २८ जनाको ज्यान गएको र दुई हजार चार सयभन्दा बढी मानिस पक्राउ परेको विवरण सार्वजनिक भएको छ।
विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार भएको भेनेजुएलामा अहिले दैनिक करिब १० लाख ब्यारेल कच्चा तेल उत्पादन भइरहेको छ, जुन एक दशकअघि दैनिक ३० लाख ब्यारेल थियो। अन्तरिम सरकारले अमेरिकी तथा अन्य विदेशी कम्पनीलाई तेल र ग्यासको खोजी, उत्पादन तथा निर्यातमा पहुँच दिने सम्झौता गरेको छ।
