लखनउ । भारतको उत्तर प्रदेशस्थित लखनउमा पर्खाल निर्माणसम्बन्धी विवाद हिंस्रक बन्दा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । सोमबार बिहान लखनउको नौबस्तास्थित सआदतगन्ज क्षेत्रमा भएको घटनाले स्थानीयवासीलाई त्रसित बनाएको छ ।
बरगदको रुखनजिक पर्खाल निर्माण र गाडी पार्किङको विषयलाई लिएर दुई पक्षबीच विवाद सुरु भएको थियो । विवाद चर्किँदै गएपछि ऋषभ शुक्लाले पेस्तोलबाट गोली चलाएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।
मृत्यु हुनेमा शिवाजी तिवारी (६० वर्ष), उनका छोरा सुयश तिवारी (३० वर्ष) र भाइ शम्भु तिवारी (५५ वर्ष) रहेका छन् । घाइतेहरूलाई अस्पताल लगिएको थियो, जहाँ तीन जनाको मृत्यु भएको हो ।
घटनापछि प्रहरीले आरोपी ऋषभलाई हतियारसहित नियन्त्रणमा लिएको छ र घटनामा प्रयोग गरिएको पेस्तोल बरामद गरेको छ । उक्त हतियार वैध हो वा अवैध भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विवाद पर्खाल निर्माणकै कारण सुरु भएको हो वा पार्किङको विषयले उग्र रूप लिएको हो भन्नेबारे पनि थप अनुसन्धान भइरहेको छ ।
