दक्षिणी सिरियाको दारा प्रान्तमा भएको हवाई आक्रमणमा तीन बालबालिकासहित सात जनाको ज्यान गएको छ। आक्रमणमा तीन जना घाइते भएका छन्। दाराको स्वास्थ्य निर्देशनालयका प्रमुख खालिद अल–अम्यानका अनुसार मृतकमा तीन बालबालिका, तीन पुरुष र एक महिला छन्। उद्धार टोलीले थप पीडितको खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने उनले बताएका छन्।
सिरियाली सरकारले आफ्नो सहमतिबिना आक्रमण भएको भन्दै आपत्ति जनाएको छ। सरकारले घटनाबारे अनुसन्धान सुरु गरेको र प्रभावितलाई सहायता दिइरहेको जनाएको छ। सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सिरियाले जोर्डनसँगको नासिब सीमा नाका मङ्गलबार बन्द गर्ने घोषणा गरेको छ। नाका बन्द हुँदा यात्रु र व्यावसायिक यातायात दुवै दिशामा रोकिनेछन्।
मानव अधिकारका लागि सिरियाली अब्जर्भेटरीका अनुसार सोमबार दारा र छिमेकी स्वीडा प्रान्तका विभिन्न ठाउँमा हवाई आक्रमण भएका थिए। तीमध्ये अल–मुजायरिब, नासिब र खलखलाह सैन्य विमानस्थल आसपासका क्षेत्र पनि थिए।
जोर्डनको सरकारी समाचार संस्था पेट्राका अनुसार जोर्डनको सेनाले दक्षिणी सिरियामा आतङ्कवादीहरू लुकेका ठाउँलाई लक्षित गरी आक्रमण गरेको हो। सेनाले ‘जोर्डानियन डिटेरेन्स–हमौद’ अभियान सिरियाली सरकारसँगको समन्वयमा चलेको दाबी गरेको छ। जोर्डनले शुक्रबार काराक प्रान्तमा चर्चको अन्त्येष्टिका क्रममा भएको घातक आक्रमणको जवाफमा कारबाही गरेको जनाएको छ। सेनाले आक्रमणमा केही शङ्कास्पद आतङ्कवादी मारिएको वा घाइते भएको तथा उनीहरूका अखडा र उपकरण नष्ट भएको बताएको छ, तर हताहतको विस्तृत विवरण सार्वजनिक गरेको छैन।
