नेपाल प्रिमियर लिग सुरु भइसकेको बेला पाकिस्तान क्रिकेट बोर्डले नेपाली फ्रेन्चाइज टोलीहरूसमक्ष नयाँ आर्थिक सर्त राखेको छ। बोर्डले आफ्ना खेलाडीलाई खेल्न दिने अनुमतिपत्रका लागि प्रत्येक खेलाडीबराबर थप २५ हजार अमेरिकी डलर मागेको बताइएको छ। रकम नदिए यसअघि दिइसकिएको अनुमति पनि फिर्ता लिन सकिने चेतावनी आएपछि टोलीहरू अप्ठ्यारोमा परेका छन्।
यस सिजन विभिन्न टोलीले पाकिस्तानका आठ खेलाडीसँग सम्झौता गरेका थिए। कर्णाली याक्समा पाकिस्तानका टी–२० कप्तान साहिब्जादा फरहान र अलराउन्डर हुसेन तलत अनुबन्ध भएका छन्। चितवन राइनोजले हसन अली, उस्मा मिर र मोहम्मद नवाजलाई भित्र्याएको थियो भने जनकपुर बोल्ट्समा इफ्तिखार अहमद र हुनैन साह तथा सुदूरपश्चिम रोयल्समा हैदर अली पुगेका थिए। तीमध्ये केही खेलाडी अनुमति लिएर नेपाल आइसकेका थिए, केहीको अनुमति आउन बाँकी थियो।
प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघि थप रकमको माग आएपछि टोलीहरूसँग विकल्प खोज्न पर्याप्त समय रहेन। सबैभन्दा बढी असर चितवन राइनोजलाई परेको छ, जसले तीन पाकिस्तानी खेलाडी अनुबन्ध गरेको थियो। चितवनले इंग्ल्यान्डका डेभिड मलान र ड्यानियल रिचार्ड माउसलीलाई टोलीमा ल्याउने घोषणा गरेको छ।
विवाद मिलाउन नेपाल क्रिकेट संघले पाकिस्तान बोर्डसँग कुराकानीको प्रयास गरेको बताइएको छ। संघका अध्यक्ष चतुरबहादुर चन्दले पीसीबी अध्यक्ष मोहसिन नकबीसँग फोनमा कुरा गर्न खोजेका थिए र पाकिस्तान सुपर लिगका प्रमुख कार्यकारी तथा नकबीका सल्लाहकारलाई ह्वाट्सएपमार्फत पटक–पटक फोन र सन्देश पठाएका थिए। स्रोतका अनुसार उताबाट जवाफ आएन र फोन पनि उठाइएन। नकबी पाकिस्तानका आन्तरिक मामिलामन्त्री र एसियाली क्रिकेट परिषद्का अध्यक्षसमेत हुन्। सरकारी तहमा भने यस विषयमा औपचारिक छलफल भएको जानकारी छैन।
