बेङ्गलुरु । चिन्नास्वामी स्टेडियममा झमझम वर्षा भएपछि भारत र वेस्ट इन्डिजबीचको पाँचौं तथा निर्णायक टी–ट्वान्टी खेल रद्द भएको छ । यससँगै पाँच खेलको शृङ्खला २–२ को बराबरीमा सकिएको छ । घरेलु मैदानमा लगातार १२ शृङ्खला जित्ने भारतको चार वर्ष लामो अपराजित यात्रामा पनि यसैसँगै पूर्णविराम लागेको छ । यसअघि सम्पन्न एकदिवसीय शृङ्खला भने भारतले २–१ ले आफ्नो पक्षमा पारेको थियो ।
स्टेडियमको उत्कृष्ट ड्रेनेज प्रणालीका कारण पानी रोकिनेबित्तिकै खेललाई ९ ओभरमा घटाएर सुरु गरिएको थियो । टस जितेर वेस्ट इन्डिजले बलिङ रोजेको थियो । तर वर्षा फेरि परेपछि जम्मा ७.४ ओभरको मात्र खेल सम्भव भयो र अम्पायरहरूले खेल नतिजाविहीन घोषणा गरे ।
छोटो अवधिको खेलमा भारतका ब्याट्सम्यानले भने आक्रामक अन्दाज देखाए । टोलीले ५ विकेट गुमाएर ११८ रन जोडेको थियो । इशान किशनले केवल १० बलमा २ छक्कासहित ३० रन बनाए भने नमन धिरले ६ बलमै ३ छक्का प्रहार गर्दै अविजित २४ रनको विस्फोटक इनिङ्स खेले । वेस्ट इन्डिजका शमार स्प्रिङ्गरले १.४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । तर शृङ्खलाभर सबैभन्दा धेरै विकेट लिने रोस्टन चेजलाई भने क्यारेबियन टोलीले बलिङ नै दिएन ।
यदि वर्षा रोकिएर ५ ओभरको खेल सम्भव भएको भए वेस्ट इन्डिजले जितका लागि ८४ रनको लक्ष्य पाउने थियो । त्यस्तो अवस्थामा सन् २०२२ यतै पहिलोपटक भुवनेश्वर कुमारले अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्ने अवसर पाउने थिए, तर वर्षाले त्यो सम्भावना पनि खोसिदियो ।
