इङ्लिस प्रिमियर लिगमा लिभरपुलले शनिबारको खेलमा २-१ को रोमाञ्चक जित हात पारेको छ । घरेलु मैदानमा खेलिरहेको ब्रेन्टफर्डविरुद्ध सुरुवातमा पछि परेको लिभरपुलले दोस्रो हाफमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
पहिलो हाफको ४४ औँ मिनेटमा ब्रेन्टफर्डका किन लुइस-पटरले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाएका थिए । स्टेडियमको माहोल त्यसबेला ब्रेन्टफर्डकै पक्षमा थियो । तर, पहिलो हाफको अतिरिक्त समयमा ब्रेन्टफर्डका येहोर यारमोल्युक रातो कार्डसहित मैदानबाट बाहिरिन बाध्य भएपछि खेलको मोड नै बदलियो । १० खेलाडीमा समेटिएको ब्रेन्टफर्डविरुद्ध लिभरपुलले लगातार दबाब बढायो ।
६२ औँ मिनेटमा भिक्टर मुनोजले बराबरी गोल फर्काएपछि खेल पुनः सुरुवातकै अवस्थामा पुग्यो । त्यसपछि ७० औँ मिनेटमा अलेक्ज्याण्डर इसाकले सटिक गोल गर्दै लिभरपुललाई २-१ को अग्रतामा पुर्याए । यो गोल नै खेलको निर्णायक बन्यो ।
खेल सकिनुअघि थपिएको समयमा ब्रेन्टफर्डका भिटाली जानेल्टले पनि रातो कार्ड पाएपछि टोली केवल ९ खेलाडीमा सीमित हुन पुग्यो । यति ठूलो संख्याको क्षतिपछि ब्रेन्टफर्डले खेल फर्काउन सकेन र लिभरपुलले तीन अङ्कसहित मैदान छोड्यो ।
यो नतिजासँगै लिभरपुल प्रिमियर लिगको अङ्क तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ भने लगातार दोस्रो हार बेहोरेको ब्रेन्टफर्ड छैटौँ स्थानमा झरेको छ ।
