काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ ।क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा अलआउट भयो । अन्तिम अवस्थामा इनिङ्स सम्हाल्न नसक्दा नेपाल लक्ष्यभन्दा २४ रन टाढा रह्यो ।नेपालका लागि युवा ब्याटर अर्जुन कुमालले ११२ बलमा ८७ रन बनाएर टोलीको सबैभन्दा ठूलो योगदान गरे, तर उनको उत्कृष्ट इनिङ्स जित दिलाउन पर्याप्त भएन । दीपेन्द्र सिंह ऐरीले ३२ बलमा २७ रन र गुलशन झाले १९ बलमा २१ रन जोडे । अन्य ब्याटरहरूले ठूलो साझेदारी गर्न नसक्दा नेपाल लक्ष्य नजिक पुग्न सकेन ।यसअघि पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा २५६ रन बनाएको थियो । क्यानडाको इनिङ्सको मुख्य आधार युवराज साम्राको शतक बन्यो — उनले ११७ बलमा १०५ रन बनाए । आरोन जोनसनले ३६ र हर्ष ठाकरले ३४ रनको योगदान दिए ।बलिङतर्फ नेपालका ललित राजवंशीले १० ओभरमा ३९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । सन्दीप लामिछानेले ४९ रन दिएर ३ र दीपेन्द्र सिंह ऐरीले २ विकेट हात पारे ।क्यानडाका लागि सुखजिन्दर सिंहले १० ओभरमा ३८ रनमा ३ विकेट लिएर नेपाललाई निरन्तर दबाबमा राखे । शील पटेल र कलिम सानाले २–२ विकेट लिए ।
क्यानडासँग नेपाल २४ रनले पराजित, अर्जुन कुमालको ८७ रन पनि व्यर्थ
