काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हिमेश पन्तको उजुरीका आधारमा साइबर ब्युरोले छलफलका लागि लगेको पत्रकार किशोर श्रेष्ठ शनिबार घर फर्किएका छन्। शनिबार बिहान नेपाल प्रहरीको साइबर ब्युरोको टोली उनको नख्खुस्थित निवासमा पुगेको थियो। त्यसपछि सोधपुछका लागि उनलाई साइबर ब्युरोको कार्यालयमा लगिएको थियो।
पन्तले अर्काको सम्पत्ति हडपेको विषयमा श्रेष्ठसम्बद्ध जनआस्था अनलाइनमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै ब्युरोमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा श्रेष्ठलाई छलफलका लागि बोलाइएको हो।
ब्युरोको कार्यालयमा पन्त र श्रेष्ठबीच छलफल गरिएको थियो। छलफलपछि दुवै पक्ष सौहार्दपूर्ण रूपमा छुट्टिएको ब्युरोका प्रवक्ता एवं एसपी दिपकराज अवस्थीले जानकारी दिए। छलफल सकिएपछि शनिबार साँझ उनलाई कार्यालयबाट फर्काइएको थियो। श्रेष्ठ जनआस्था साप्ताहिकका अध्यक्ष हुन्।
