शनिबार सिरहाको गोलबजार नगरपालिका–९, बलडाँडास्थित एउटा खेतमा गाँजाका बोट नष्ट गर्न पुगेको प्रहरी टोलीले लुकाइएको अवस्थामा एउटा कटुवा पेस्तोल बरामद गरेको छ।
गाँजाको खेती भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोली खेतमा पुगेर खानतलासी गरेको थियो। प्रहरीले करिब ६ कठ्ठा क्षेत्रफलमा लगाइएका गाँजाका बोट नष्ट गरेको छ।
गाँजा फँडानी गर्ने क्रममा खेतको बीच भागमा राखिएका पुराना दुईवटा काठका गोलियाबीच लुकाएर राखिएको अवस्थामा पेस्तोल फेला परेको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार बरामद पेस्तोलमा नम्बर र गोली थिएनन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
