काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन शनिबार अपराह्न पूजा कोठा तथा दसैँ घरमा स्थापना गरिएका नवदुर्गा स्थलमा फूलपाती भित्र्याइएको छ ।
दुर्गा पक्षअन्तर्गत प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीमा मनाइने फूलपाती पर्व यसवर्ष पनि घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीकका रूपमा फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गाको आह्वान गरी पूजाआजा गरिएको दसैँ घर वा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने परम्परा छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकका रूपमा भित्र्याएर शक्तिको आराधनासहित शास्त्रीय विधिपूर्वक पूजा गर्ने वैदिक परम्परा रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । उनका अनुसार देवीलाई बलियो बनाउने सहायक देवीहरूको शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउन साइतको आवश्यकता नपर्ने समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले बताए ।
राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना हुने हनुमानढोका दरबारको दसैँ घरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँ घरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन् ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा तथा सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती ल्याइएको थियो । यसवर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको टोली र मङ्गल धुन गाउने मङ्गलिनी समूह पनि सहभागी थिए ।
हनुमानढोका दरबारको नासलचोकमा पूजा र मूल चोकमा बलिसहितको पूजा गरेपछि दसैँ घरमा फूलपाती भित्र्याइएको हो । राजतन्त्र रहुञ्जेल राजाको उपस्थिति रहने गरेकामा गणतन्त्रपछि कहिले संस्कृतिमन्त्री त कहिले सचिव उपस्थित हुने गरेकामा यसवर्ष मन्त्री र सचिव उपत्यका बाहिर रहेकाले संस्कृति महाशाखा प्रमुख सौभाग्य प्रधानाङ्गलगायत अधिकारीहरू सहभागी भएको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।
गोरखाबाट फूलपाती आज बिहानको साइतमा काठमाडौँ ल्याइएको थियो । नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट राजकाज सुरु गरेपछि गोरखाबाट फूलपाती ल्याएर भित्र्याउने परम्परा बसेको हो ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखेपछि सुरु भएको नेपालीहरूको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल आजैका दिनदेखि बढ्ने गरेको छ । सरकारी कार्यालय पनि आजैदेखि बिदा भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिसहरू सपरिवार दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न घर फर्कने क्रम तीव्र भएको छ । ग्रामीण भेगमा दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दसैँको रौनक बढाएको छ भने बजारमा किनमेल गर्नेको भीड देखिएको छ ।
