पोखरा — बडादसैँको सप्तमीका दिन पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा सरकारका तर्फबाट विधिपूर्वक पूजाआजा गर्दै फूलपाती भित्राइएको छ। शनिबार जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा निकालिएको शोभायात्रासहित मन्दिर परिसरमा यो धार्मिक अनुष्ठान सम्पन्न भएको हो।
परम्पराअनुसार कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ उपस्थित थिए। फूलपाती भित्र्याउन पोखराको मानव अधिकार चोकबाट बाजागाजा सहितको शोभायात्रा निकालिएको थियो, जुन भिमसेन मन्दिर, नालाको मुख र मोहोरियाटोल हुँदै विन्ध्यवासिनी मन्दिर पुगेको थियो। पूजाआजासँगै सो शोभायात्रा समापन भएको थियो।
यस अवसरमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानको समेत उपस्थिति थियो। चारवटै सुरक्षा निकायका तर्फबाट नवदुर्गा भगवतीलाई सलामीसमेत अर्पण गरिएको थियो। प्रजिअ गुरुङसहित सुरक्षा निकायका प्रमुखहरूले कस्केली जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै पूजाआजा गरेका थिए।
उनले चाडपर्वका बेला शान्ति सुरक्षा कायम राख्न र सबैले भयरहित वातावरणमा खुसीका साथ चाडपर्व मनाउन सहयोग पुर्याउन आग्रह गरे। परम्परादेखि नै विन्ध्यवासिनी मन्दिर र कास्कीकोटमा नेपाल सरकारका तर्फबाट विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्राउने प्रचलन रहिआएको प्रजिअ गुरुङले बताए।
फूलपातीका दिन विन्ध्यवासिनी, तालबाराही, भद्रकाली र अकलादेवी लगायत पोखराका प्रमुख मन्दिरहरूमा पूजाआजाका लागि भक्तजनको घुइँचो लागेको थियो।
