बागलुङ । अविरल वर्षापछि आएको बाढीपहिरोले बिगारेका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको छ । असोज ९ देखि ११ गतेसम्मको निरन्तर वर्षाले जिल्लाका मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडकसहित प्रदेशस्तरीय र ग्रामीण सडकसमेत अवरुद्ध भएका थिए ।
सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार मालढुङ्गा पुलको पहुँचमार्ग, बागलुङ–बेनी सडक र मध्यपहाडी लोकमार्गको गलकोट–निसीखोला खण्डमा मर्मत सम्पन्न भएपछि यातायात खुलेको हो । मालढुङ्गा पुलको पहुँचमार्ग १५ दिनपछि र गलकोट–ताराखोला सडक १७ दिनपछि सञ्चालनमा आएको थियो ।
सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय तथा सहायक राजमार्गमा करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको सुवेदीले बताए । मध्यपहाडी लोकमार्गको निसीखोला क्षेत्रमा करिब ४०० मिटर सडक बाढीले बगाएर बगरमा परिणत भएको थियो । त्यहाँ डाइभर्सन निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएको छ । कालीगण्डकी करिडोरका कालाखोला बगर, बेलबगर र जैमिनीघाट क्षेत्रमा पनि अस्थायी पहुँचमार्ग बनाइएको छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख अनुप थापाका अनुसार प्रदेश सरकारअन्तर्गतका सडकमा करिब २० करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ । सबैभन्दा बढी क्षति गलकोट–हरिचौर–ताराखोला सडकमा पुगेको उनले बताए ।
यसरी जिल्लाका राष्ट्रिय, सहायक तथा प्रदेशस्तरीय सडकमा गरी कुल करिब ५० करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । क्षतिग्रस्त सडकको दीर्घकालीन पुनर्निर्माणमा एक अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान छ । तत्काल कटिङ, फिलिङ र अस्थायी पहुँचमार्गले सडक खुलाइएको भए पनि स्थायी पुनर्निर्माणको काम भने अझै बाँकी छ ।
