कानुनको पालना गराउने जिम्मेवारी भएका जनप्रतिनिधि आफैं हतियारसहित कारबाहीमा उत्रिएपछि बंगलादेशमा ठूलो विवाद चुलिएको छ। बंगलादेशका राज्यमन्त्री इशराक हुसेन शनिबार राजधानी ढाकाको गेन्दारिया क्षेत्रमा पेस्तोल बोकेर आफ्ना समर्थकहरूसहित लागुऔषध कारोबारीहरूमाथि छापा मार्न पुगेका हुन्।
स्थानीय बस्तीमा पुगेका मन्त्री र उनका सहयोगीहरूले लागुऔषधको कारोबारमा संलग्न रहेको आशंकामा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएका थिए। साथै त्रिपालले छाएका टहराहरूसमेत भत्काइदिए। छापाको भिडियो मन्त्री आफैंले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेका थिए। भिडियोमा उनले ६ जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको दाबी गरेका छन्।
मन्त्रीले कानुन हातमा लिएर हतियारसहित छापा मारेको भिडियो सार्वजनिक भएपछि सुरक्षा निकाय र सर्वसाधारणले चर्को आलोचना गरेका छन्। ढाका महानगरीय प्रहरीका उप–आयुक्त मलिक अहसान उद्दिन सामीले छापा मार्ने विशेषाधिकार केवल सुरक्षा निकायसँग मात्र रहेको स्पष्ट पारे। तर बंगलादेशको कानुनअनुसार कुनै पनि नागरिकले अपराधमा संलग्न भएको आशंकामा व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन सक्ने उनले बताए।
प्रहरीका अनुसार मन्त्रीले जानकारी दिएपछि गेन्दारिया प्रहरी चौकीमा १० जना लगिएको छ। गेन्दारिया प्रहरी प्रमुख मुनिरुज्जमान मुनिरले उनीहरूको साथबाट सेतो धुलोजस्तो शंकास्पद पदार्थ बरामद भएको र त्यो लागुऔषध हो वा होइन भन्ने पुष्टि गर्न प्रयोगशाला परीक्षणमा पठाइएको जानकारी दिए।
मन्त्री हुसेनले लागुऔषधका कारण युवापुस्ता कुलतमा फसेर बर्बाद भइरहेको भन्दै विगत ६ महिनादेखि आफूले सूचना संकलन गरिरहेको बताएका छन्। आफ्नै पार्टीका व्यक्ति पनि संलग्न भेटिए झन् कडा कारबाही गर्ने चेतावनी दिँदै उनले यो अभियान आफ्नो निर्वाचन क्षेत्रबाट सुरु भएर देशभर फैलिने दाबी गरे। पक्राउ परेकाहरूले हात जोडेर छोडिदिन बिन्ती गर्दा उनले कसैलाई कुटपिट नगर्ने र कानुनी प्रक्रियाबाट मात्रै सजाय हुने आश्वासन दिएका थिए।
