काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर मालपोत कार्यालयका नायब सुब्बा यदुनाथ आचार्यसहित छ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपपत्र दायर गरेको छ।
आयोगको अनुसन्धानमा आचार्यले सरकारी सेवामा रहँदा आफ्नो पदको दुरुपयोग गर्दै झन्डै ९ करोड ७३ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको छ। उनी २०५४ माघ २ गते खोटाङ जिल्ला विकास समिति कार्यालयमा गाविस सचिवका रूपमा सेवामा प्रवेश गरेका थिए। आयोगले नियुक्तिदेखि २०८० मंसिर २१ गतेसम्मको अवधिलाई जाँच अवधि बनाएको थियो।
उक्त अवधिमा आचार्य र उनको परिवारको वैधानिक आय ६ करोड २५ लाख ६३ हजार रुपैयाँभन्दा केही बढी रहेको पाइएको छ। तर सोही अवधिमा जग्गा तथा घरजग्गा खरिद, कम्पनीमा लगानी, जग्गाको बैना, ऋण, सवारीसाधन खरिद, अध्ययन खर्च, सेयर खरिद र बैंक ऋण भुक्तानीमा १५ करोड ९८ लाख ३५ हजार रुपैयाँभन्दा बढी खर्च तथा लगानी भएको देखिएको आयोगले जनाएको छ। वैधानिक आयभन्दा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा बढी देखिएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० अनुसार मुद्दा दायर गरिएको हो।
आयोगका अनुसार आचार्यले अन्य प्रतिवादीहरूको सहयोगमा आपराधिक स्रोतबाट प्राप्त सम्पत्ति लुकाएर वैध देखाउने काम गरेका थिए। काठमाडौं महानगरपालिका–१० र ३५, गोठाटार, मोरङको विराटनगर र टंकिसिनवारीका जग्गा कारोबार, हलेसी डिपार्टमेन्ट स्टोर प्रालिमा लगानी, बैना रकम र सेयर कारोबारलाई सम्पत्ति शुद्धीकरणसँग जोडेर हेरिएको छ। यी कारोबारबाट ८ करोड २६ लाख २० हजार २७४ रुपैयाँ ६७ पैसा बराबरको रकम प्लेसमेन्ट, लेयरिङ र इन्टिग्रेसन प्रक्रियाबाट परिचालन गरिएको आयोगको निष्कर्ष छ। सम्पत्ति शुद्धीकरणतर्फ ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसा बिगो कायम गरी सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ अनुसार कारबाही माग गरिएको छ।
