काठमाडौँ — सांस्कृतिक पहिचान र राष्ट्रिय महत्त्वका विषयमा बन्ने चलचित्रलाई सरकारले यस आर्थिक वर्ष तीन करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले यथार्थपरक, मौलिक र जनचेतनामूलक चलचित्रलाई प्रोत्साहन दिन आवेदन आह्वान गरेको हो।
सहयोग तीन चरणमा उपलब्ध हुनेछ — पटकथा विकास, निर्माण र निर्माणपछिका काम। अर्थात् कथाको प्रारम्भिक चरणदेखि छायांकन हुँदै सम्पादन तथा प्रदर्शन तयारीसम्मका कामका लागि छुट्टाछुट्टै विधामा आवेदन दिन सकिनेछ। स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत छुट्याइएको बजेट कार्यान्वयन गर्न सरकारले ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३’ अनुसार यो कार्यक्रम अघि बढाएको हो।
आवेदन दिन चाहने व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित निवेदन बुझाउनुपर्नेछ। निवेदनमा चलचित्रको पटकथाको नाम, सहयोग माग गरिएको विधा, कथाकार र पटकथाकारको नाम, चलचित्रको भाषा तथा पटकथा लेखकको ठेगाना खुलाउनुपर्नेछ।
त्यसैगरी निर्माता, निर्देशक र छायाँकारको नाम र ठेगाना, निर्माण गर्ने संस्था वा कम्पनीको विवरण, साझेदार संस्था भए त्यसको जानकारी, कलाकारको नाम र सङ्ख्या, लेखक, निर्माता, निर्देशक, छायाँकार र मुख्य कलाकारको व्यक्तिगत विवरण तथा निर्माणसम्बन्धी कार्ययोजना पनि संलग्न गर्नुपर्नेछ।
मौलिक कथा, स्थानीय संस्कृति, परम्परा, सामाजिक यथार्थ र राष्ट्रिय पहिचानसँग जोडिएका विषयलाई पर्दामा उतार्न प्रोत्साहन गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको मन्त्रालयले जनाएको छ। सहयोग वितरणको विस्तृत प्रक्रिया, मापदण्ड र सर्त कार्यविधि, २०८३ बमोजिम हुने बताइएको छ।
