तिहार र छठपर्व नजिकिँदै जाँदा सप्तरीको राजविराज बजारमा माटो र बाँसबाट बनेका सामग्रीको किनबेच उल्लेख्य रूपमा बढेको छ। चाडपर्वमा गरिने पूजाआजाका लागि यस्ता सामग्री आवश्यक मानिने भएकाले बजारमा चहलपहल बढेको हो।
तिहारमा बालिने माटोका दियो, कलश र घैँटासँगै छठमा चाहिने बाँसका कोनिया, नाङ्लो र ढाकीको बिक्री बढेको स्थानीय व्यापारी बुचनीदेवी साहले बताइन्। एक दशकदेखि बाँसका सामग्रीको व्यापार गर्दै आएकी साहका अनुसार सामान्य समयमा दैनिक करिब एक हजार रुपैयाँको कारोबार हुने गरेकामा दसैँदेखि तिहारसम्मको अवधिमा त्यो दोब्बर पुग्ने गरेको छ। अन्य बेला विवाह, व्रतबन्ध र पूजाआजाजस्ता अवसरमा मात्र यस्ता सामग्रीको माग हुने गरेको उनको भनाइ छ।
राजविराज नगरपालिका–२ की ममता झाले मधेसका चाडपर्व र पूजाआजामा माटाका भाँडा तथा बाँसका सामग्रीको विशेष महत्त्व रहने भएकाले तिहार र छठमा तिनको खरिद अनिवार्यजस्तै हुने बताइन्।
नगरप्रमुख इसरत परविनले जिल्लाका विभिन्न पालिकामा बसोबास गर्ने कुमाल समुदायले बनाएका माटाका सामग्री र मरिक (डोम) समुदायले निर्माण गरेका बाँसका सामग्री स्थानीय बजारमै बिक्री हुनु सकारात्मक भएको बताइन्। यसले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै जिल्लाभित्रै आर्थिक कारोबार बढाउन सहयोग पुग्ने उनको भनाइ छ। स्थानीय उत्पादनको किनबेच बजारमै हुने भएकाले यस्ता सामग्रीका लागि अन्य जिल्लामा निर्भर हुनुपर्ने अवस्था नरहेको पनि उनले बताइन्।
