काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–जीपी प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरेर ठेक्कासम्बन्धी विवरण परिवर्तन गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
साइबर ब्यूरोका अनुसार पक्राउ परेकाहरूले ठेक्काको आर्थिक प्रस्ताव खोलिनुअघि नै त्यससँग जोडिएका कागजात परिवर्तन गरेका थिए । ब्यूरोमा परेको निवेदनका आधारमा गरिएको प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट उनीहरूको संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको थियो ।
ब्यूरोबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट तीनै जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
साइबर ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले घटनाबारे जानकारी दिएका हुन् । सरकारी खरिद प्रक्रियामा प्रयोग हुने विद्युतीय प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्कासम्बन्धी कागजात हेरफेर गरिएको घटनालाई गम्भीर रूपमा लिइएको प्रहरीले जनाएको छ ।
