राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि हुन नसक्ने स्पष्ट पारेका छन्। शनिबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले लोकतन्त्र र संविधानको सर्वोच्चतामा रास्वपा स्पष्ट रहेको बताएका हुन्।
सञ्चारकर्मीहरूसँग बोल्दै उनले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो केही पनि नभएको बताए। रास्वपा र आफू यस विषयमा स्पष्ट रहेको उल्लेख गर्दै उनले यसमा कसैले पनि दुविधा गर्नु नपर्ने बताए।
सभापति लामिछानेले संविधान र लोकतन्त्रमा आँच आउने क्रियाकलाप गर्ने जोसुकै व्यक्ति भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने र जिम्मेवारी लिनुपर्ने बताए। संविधानलाई नै बेवास्ता गर्ने तथा संविधान प्रदत्त अधिकारलाई नै हवाला दिने किसिमको क्रियाकलाप गर्ने जोसुकै होस्, ऊ जबाफदेही हुनैपर्ने उनको भनाइ थियो।
उनले यस विषयमा पार्टीको आन्तरिक छलफलबाट थप आधिकारिक निर्णय समेत सार्वजनिक गरिने जानकारी दिएका छन्।
लामिछानेले संविधान र लोकतन्त्रको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताए। संविधानभन्दा माथि कुनै व्यक्ति वा संस्था नरहेको र लोकतन्त्रको सर्वोच्चतामा कुनै सम्झौता हुन नसक्ने उनको भनाइ थियो।
