काठमाडौँ — नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिले गाउँगाउँ पुगेर गुमेको मत फर्काउने कार्ययोजना अघि सारेको छ। १५औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र केन्द्रीय सदस्यको पहिलो बैठक बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको हो।
बैठकमा नवनिर्वाचित सभापति गगन थापाले केन्द्रीय सदस्यहरूलाई आगामी चार महिना तोकिएको क्षेत्रमा गएर काम गर्न निर्देशन दिए। घुम्नका लागि होइन, पार्टीले दिएको जिम्मेवारी पूरा गरेर प्रतिवेदन बुझाउनुपर्ने उनको भनाइ रहेको केन्द्रीय सदस्य अंशुल केसीले बताए।
सभापति थापाले कुनै पनि केन्द्रीय सदस्यलाई काठमाडौँमै बसेर काम गर्न नदिइने स्पष्ट पारेका छन्। गत फागुनको निर्वाचनमा अर्को पार्टीलाई भोट हालेका कांग्रेस समर्थकलाई फेरि पार्टीसँग जोड्न मंसिर महिनाभर अभियान चलाइनेछ। सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ का अनुसार गुमेको १० लाख मत फर्काउनु नै पार्टीको पहिलो काम हो।
बैठकमा पदाधिकारी र सदस्यलाई आफूले कुन विषय र कुन क्षेत्रमा काम गर्ने हो, कार्ययोजनासहितको फारम भरेर केन्द्रीय कार्यालयमा बुझाउन भनिएको छ। जिल्ला वा पालिका रोज्नेले सोही उल्लेख गर्नुपर्नेछ भने निर्वाचन ब्यूरो वा भ्रातृ तथा शुभेच्छुक संस्थामा काम गर्न चाहनेले पनि आफ्नो रोजाइ खुलाउनुपर्नेछ।
उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप नहुने थापाको भनाइ छ। उपसभापति पुष्पा भुसालको संयोजकत्वमा बनेको निर्वाचन ब्यूरोले जनमतको अध्ययन र आन्तरिक सर्वेक्षण गर्नेछ, र जसको पक्षमा बलियो जनमत देखिन्छ, उसैलाई उम्मेदवार बनाइने सहमहामन्त्री रसाइलीले बताए।
सभापति थापाले कार्यसमितिलाई छिट्टै पूर्णता दिने योजना पनि बनाएका छन्। संशोधित विधानअनुसार उनले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्न सक्छन्, र विधानमा दुई महिनाभित्र मनोनीत गर्ने उल्लेख भए पनि सकभर चाँडै मनोनयन गरेर जिम्मेवारीमा खटाउने योजना छ। कार्यसमितिले पूर्णता पाएपछि नेतृत्वविहीन भ्रातृसंस्थाका अधिवेशन गरिनेछ।
