१४ कात्तिक, सिरहा । तिहार, लक्ष्मीपूजा र छठपर्व नजिकिँदै गर्दा सिरहाका फूल किसानको आशामा पानी फिरेको छ। लगातार दुई दिन परेको वर्षाले जिल्लाका विभिन्न ठाउँमा लगाइएको सयपत्री खेतीमा ठूलो क्षति पुर्याएको छ। फूल टिपेर बजार पुर्याउने तयारीमा रहेका किसान महिनौँको मिहेनत खेर गएपछि निराश भएका छन्।
गोलबजार नगरपालिका–३ का मनु स्याङ्दन १५–२० वर्षदेखि फूल खेती गर्दै आएका छन्। यस वर्ष उनले चार कठ्ठा जग्गामा सयपत्री लगाएका थिए। खेतीमा करिब एक लाख रुपैयाँ खर्च गरेका उनले चाडपर्वमा फूल बेचेर करिब चार लाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरेका थिए। तर वर्षाका कारण करिब दुई हजार पाँच सय बोट भुइँमा ढलेपछि उनको लगानी र अपेक्षित आम्दानी दुवै गुमेको छ।
त्यसैगरी गोलबजार–६ का रुदल नायकको करिब छ कठ्ठामा लगाइएको फूलमध्ये तीनदेखि चार कठ्ठाको फूल वर्षाले नष्ट गरेको छ। सोही वडाकी इन्द्रकुमारी लामाले पाँच कठ्ठामा लगाएको सयपत्रीमा पनि ठूलो क्षति पुगेको बताएकी छन्। करिब १० वर्षदेखि फूल खेती गर्दै आएकी उनले पनि यस वर्ष करिब चार लाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरेकी थिइन्।
चाडपर्वको मुखमा फूल खेतीमा क्षति पुगेपछि लगानीसमेत डुब्ने अवस्था आएको भन्दै किसान चिन्तित बनेका छन्।
