राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वोच्च अदालतका विवादित न्यायाधीशहरूमाथि महाभियोगको प्रक्रिया अघि बढाउने तयारी थालेको छ। पार्टीको सचिवालय बैठकले यस विषयमा थप गृहकार्य गर्न संसदीय दललाई पत्र पठाउने निर्णय गरेको हो।
न्यायाधीशहरूमाथि प्रश्न उठेको र एक न्यायाधीशले विचौलियासँग भेटेको स्वीकार गरेका कारण आवश्यक छानबिन गरेर महाभियोगतर्फ अघि बढ्ने निष्कर्ष बैठकले निकालेको छ। पार्टीका एक सचिवालय सदस्यका अनुसार संसदीय दललाई लेखेर पठाउनु भनेको महाभियोगको प्रक्रियामा अघि बढ्नु हो। संसदीय दलले छानबिन र प्रक्रिया बुझेर निर्णय गर्नेछ।
शुक्रबार साँझ पार्टी सभापति रवि लामिछानेले पार्टीका कानुन व्यवसायी सांसदहरूसँग छलफल गरेका थिए। न्यायाधीशले आचरण र नैतिकताविपरीत काम गरेको विषयमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। सांसदहरूले तीन जना सांसदले सूचना दिएर महाभियोग सिफारिस समिति गठन गरी छानबिन गर्नुपर्ने बताएका छन्।
संविधानको धारा १०१ को उपधारा ५ मा तीन जना सांसदले महाभियोग लाग्ने अवस्था रहेको भन्दै सूचना दिन सक्ने व्यवस्था छ। यस्तो सूचना पाएपछि धारा १०१ को उपधारा ३ अनुसार महाभियोग सिफारिस समितिले प्रस्ताव पेस गर्ने आधार र कारण छन् कि छैनन् भनेर छानबिन गरी सिफारिस गर्छ। समितिले महाभियोग लाग्न सक्ने अवस्था रहेको ठहर गरे महाभियोग प्रस्ताव पेस हुन सक्छ।
बैठकमा सामूहिक वा छुट्टाछुट्टै रूपमा महाभियोग अघि बढाउन सकिने विषयमा छलफल भएको छ। अन्य न्यायाधीशहरूले पनि विचौलिया भेटेको कुरा आएको पार्टीका एक नेताले बताए। उनका अनुसार सबै कुरा बुझेर निर्णय गरिनेछ र केही दिनभित्रै प्रक्रिया अघि बढ्नेछ।
