शनिबार साँझ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वर्षाले अवरुद्ध बनेको नेपाल प्रिमियर लिगको खेल अझै सुरु हुन सकेको छैन। सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको भिडन्त दिनभरको झरीका कारण पाँच ओभरमा छोट्याएर खेलाउने तयारी गरिएको थियो, तर साँझसम्म पनि टस हुन सकेन।
सुदूरपश्चिम टोलीले टस गर्न आनाकानी गरेपछि खेल थप पछि धकेलियो। दिनभर कुर्दा पनि खेल नदेखेपछि मैदानमा पुगेका दर्शक निराश बन्न थाले। कतिले मोबाइलको बत्ती बालेर खेल चाँडै सुरु गर्न दबाब दिए भने कतिले तिहारको देउसीभैलोको लयमा खेल सुरु गर्न आग्रह गर्दै गीत गाए।
दर्शकको यो सिर्जनशील तरिकाले केहीबेर मैदानको माहोल रमाइलो बनायो। तर रात छिप्पिँदै जाँदा पनि खेल सुरु हुने कुनै निश्चित संकेत नदेखिएपछि समर्थकको धैर्यताको परीक्षण भइरहेको छ। खेल हुने वा नहुने विषयमा आयोजकले अझै स्पष्ट निर्णय दिएका छैनन्।
