चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा विराटनगर भन्सार नाकाबाट हुने वैदेशिक व्यापार उल्लेख्य रूपमा बढेको छ। साउनदेखि असोजसम्मको अवधिमा कुल आयात ६७ प्रतिशतले बढेर ९८ अर्ब २६ करोड २६ लाख रुपैयाँ पुगेको छ भने निर्यात ३६ प्रतिशतले बढेर २९ अर्ब ३५ करोड ७४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात ५८ अर्ब ७६ करोड ३९ लाख र निर्यात २१ अर्ब ६६ करोड २२ लाख रुपैयाँ थियो।
यस अवधिमा उद्योगका लागि चाहिने कच्चा पदार्थको आयातमा ठूलो उछाल आएको छ। शुद्ध फलामको आयात २१८ प्रतिशतले बढेर ९ करोड ३० लाख किलो नाघेको छ भने भटमासको कच्चा तेलको आयात झन्डै ८० प्रतिशतले बढेर १४ करोड ११ लाख लिटर पुगेको छ। एलपी ग्यासको आयात परिमाण ६३ दशमलव ५८ प्रतिशतले बढेर ३ करोड १४ लाख किलो पुगेको छ। कच्चा पाम तेल, तोरी तथा रायोको गेडा र सूर्यमुखीको कच्चा तेलको आयातमा पनि उल्लेख्य वृद्धि देखिएको छ।
तर तयारी वस्तु र सवारीसाधनको आयात भने खुम्चिएको छ। मोटरसाइकलको आयात ५३ दशमलव ६३ प्रतिशतले घटेर १ हजार ९०० थानबाट ८८१ थानमा झरेको छ, जसले गर्दा यसबाट उठ्ने राजस्व झन्डै आधा घटेको छ। तयारी कपडाको आयात १० दशमलव ८७ प्रतिशतले घटेर ३५ लाख थानमा झरेको छ भने टाइलको आयात १९ दशमलव ७४ प्रतिशतले ओरालो लागेको छ।
निर्याततर्फ चाउचाउ तथा पास्ताले सबैभन्दा ठूलो फड्को मारेको छ। यसको निर्यात परिमाण ११८ प्रतिशतले बढेर १८ लाख ८८ हजार किलो पुगेको छ भने मूल्य १८ करोडबाट बढेर ४४ करोड ४१ लाख रुपैयाँ पुगेको छ। प्रशोधित भटमासको तेलको निर्यात १३ प्रतिशतले बढेर ६ करोड ७९ लाख किलो पुगेको छ।
यसको विपरीत जुटको बोरा तथा झोलाको निर्यात ५८ दशमलव १० प्रतिशतले घटेर २ करोड ९ लाख किलोमा खुम्चिएको छ। भेनियर सिट, खयर कत्था र तयारी कपडाको निर्यातमा पनि गिरावट आएको छ।
विराटनगर भन्सार कार्यालयले असोज मसान्तसम्म १० अर्ब १५ करोड ६७ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ९५ दशमलव ८७ प्रतिशत हो। गत वर्षको तुलनामा यो २१ दशमलव ६१ प्रतिशतले बढी हो।
