बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी र भारतको प्रसिद्ध पर्यटकीय गन्तव्य गोवालाई एउटै पर्यटन सर्किटमा जोड्ने प्रस्ताव अघि सारिएको छ । भारतको गोवामा आयोजित भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६ मा सहभागी नेपाली प्रतिनिधिमण्डलले गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तसँगको भेटमा यस्तो प्रस्ताव राखेको हो ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले भेटमा भैरहवा–गोवा सीधा हवाई उडान, संयुक्त पर्यटन प्रवर्द्धन तथा पर्यटन र सेवामूलक क्षेत्रमा लगानी साझेदारीका विषयमा छलफल गरेको थियो ।
प्रतिनिधिमण्डलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई उपयोग गर्दै लुम्बिनी र गोवाबिच पर्यटकको आवागमन बढाउन र दुवै गन्तव्यलाई एउटै पर्यटन प्याकेजमा जोड्न प्रस्ताव गरेको थियो । मुख्यमन्त्री सावन्तले नेपाल र गोवाबिच पर्यटन तथा व्यावसायिक साझेदारी विस्तार गर्ने प्रस्तावप्रति सकारात्मक धारणा राख्दै सहकार्य गर्न सकिने बताएका छन् ।
लुम्बिनी धार्मिक तथा आध्यात्मिक पर्यटनका लागि प्रसिद्ध छ भने गोवा समुद्री पर्यटनको आकर्षक गन्तव्य हो । यी दुई गन्तव्यबिच सहकार्य हुन सके लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन बजार विस्तारसँगै नेपाल–भारत पर्यटन साझेदारीले नयाँ आयाम पाउने अपेक्षा गरिएको छ ।
