काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेको छ । काभ्रेपलाञ्चोकका लामालाई अध्यक्षमा मनोनीत गर्ने निर्णय देउवा पक्षको १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले गरेका हुन् ।
मनोनयन पत्रमा विधानको धारा ४२ को उपधारा १ को खण्ड (च) बमोजिम लामालाई अध्यक्ष पदमा मनोनीत गरिएको उल्लेख छ । नवनियुक्त अध्यक्ष लामालाई छ महिनाभित्र तरुण दलको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पनि तोकिएको छ ।
लामा यसअघि तरुण दलका पूर्वअध्यक्ष विद्धान गुरुङको कार्यसमितिमा केन्द्रीय सदस्यका रूपमा रहेका थिए । लामो समयदेखि संगठनमा सक्रिय रहेका उनलाई अध्यक्षको जिम्मेवारी दिइएसँगै तरुण दलको आगामी महाधिवेशनको तयारीले गति लिने अपेक्षा गरिएको छ ।
देउवा पक्षले तरुण दलको नेतृत्व चयनसँगै पार्टीको युवा संगठनलाई थप सक्रिय बनाउने संकेत दिएको छ । महाधिवेशनको मिति र प्रक्रियाबारे भने थप निर्णय हुन बाँकी छ ।
