गोरखा — पुल र सडकको अभावमा वर्षौंदेखि सास्ती खेप्दै आएका गोरखाको गण्डकी गाउँपालिकाका किसानले अब राहत पाउने भएका छन्। गृहमन्त्री सुधन गुरुङले ज्यामीरेघाटमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढिसकेको बताएका छन्।
मतदाता भेटघाटका क्रममा गण्डकी गाउँपालिका पुगेका गृहमन्त्री गुरुङसँग स्थानीयले आफ्नो समस्या राखेका थिए। उनीहरूका अनुसार यातायातको सहज पहुँच नहुँदा किसानले उत्पादन गरेको तरकारी समयमै बजारसम्म पुर्याउन सक्दैनन्। बजारसम्म नपुग्दा तरकारीले उचित मूल्य पाउँदैन र कतिपय अवस्थामा बिक्री हुन नसकी बारीमै कुहिएर जान्छ।
स्थानीयले पुलको अभावले कृषि उत्पादनको बजारीकरणमा मात्र नभई दैनिक आवागमन र समग्र आर्थिक गतिविधिमा समेत असर परेको बताएका थिए।
गृहमन्त्री गुरुङले पुल निर्माणको प्रक्रिया अगाडि बढेकाले अबको केही समयमै समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरेका छन्। पक्की पुल बनेपछि स्थानीयलाई आवतजावत गर्न सहज हुनुका साथै किसानले तरकारी तथा अन्य कृषि उपज बजारसम्म पुर्याउन सजिलो हुनेछ। त्यसपछि किसानले उत्पादनको उचित मूल्य पाउने र कृषि पेसा थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।
