भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार मध्यपुरथिमि नगरपालिका–२ को दिव्यश्वरी प्लानिङ क्षेत्रमा गरेको चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपककुमार कार्कीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तुका वसन्तबहादुर खत्री रहेका छन् । उनको साथबाट ४२ दशमलव ८४ ग्राम खैरो हेरोइन र ट्रामाडोलका १० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, दोलखाका प्रदीप केसीलाई १ दशमलव २८ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ । प्रहरीले दुवै जनालाई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।
पछिल्लो समय उपत्यकामा लागुऔषध ओसारपसार र कारोबार बढ्दै गएको भन्दै प्रहरीले चेकजाँचलाई कडाइ गर्दै आएको छ । भक्तपुर प्रहरीले नियमित गस्ती र सवारी चेकजाँचका क्रममा लागुऔषध बरामद हुने क्रम बढेको बताएको छ । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ भने उनीहरूले लागुऔषध कहाँबाट ल्याएका थिए र कसलाई पुर्याउन लागेका थिए भन्नेबारे पनि खोजी भइरहेको छ ।
प्रहरीले लागुऔषधविरुद्धको अभियानलाई निरन्तरता दिने बताएको छ ।
