बाँकेमा दुई दिनसम्म चलेको तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि ललितपुरको सगरमाथा पौडी क्लबले जितेको छ। नेपालगन्ज पौडी क्लबले आयोजना गरेको र नेपाल पौडी सङ्घले प्राविधिक सहयोग दिएको प्रतियोगितामा सगरमाथाले ४२९ अङ्क बटुल्दै पहिलो स्थान सुरक्षित गर्यो।
दोस्रो स्थानमा भारतको नयाँदिल्लीस्थित इलाइट पौडी एकेडेमी रह्यो, जसले १७४ अङ्क जोड्यो। कोहलपुरको शिखा एकेडेमी ९५ अङ्कसहित तेस्रो भयो। ललितपुरको जेम्स स्कुल ५९ अङ्कसहित चौथो, लखनऊको ला मार्टिनेयर गल्र्स कलेज ३३ अङ्कसहित पाँचौँ, कोशी प्रदेश २३ अङ्कसहित छैटौँ र ललितपुरकै रातो बङ्गाल स्कुल १८ अङ्कसहित सातौँ स्थानमा रहे।
पुरुष र महिलातर्फका उत्कृष्ट खेलाडी दुवै सगरमाथा क्लबकै भए। सात स्वर्ण जितेका निभान समन अवाल पुरुषतर्फ र १० स्वर्ण जितेकी राइजा अवाल महिलातर्फ उत्कृष्ट ठहरिए। दुवैले जनही पाँच हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार पाए। आठ वर्षमुनिका खेलाडीमध्ये रातो बङ्गाल स्कुलका कौतिक शर्मा र मेम्पल क्यानेडियन स्कुलकी विधि नेपाल उदीयमान खेलाडीका रूपमा सम्मानित भए।
प्रतियोगितामा फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेड्लेसहित छ विधामा ८० वटा स्पर्धा भएका थिए। आठ वर्षमुनिदेखि १७ वर्षमाथिका खुला उमेर समूहसम्मका खेलाडी सहभागी थिए। नेपालका सबै प्रदेशसँगै भारतको नयाँदिल्ली र लखनऊबाट गरी करिब १५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
