काठमाडौँ — धानबालीको मुख्य सिजन सुरु भएसँगै देशभरका प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालनमा आएका छन्। किसानका खेतसम्म पर्याप्त पानी पुर्याउने लक्ष्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले धानबालीलाई प्राथमिकतामा राखेर नहर सञ्चालन गरिरहेको छ।
विभागका अनुसार सुनसरी–मोरङ सिँचाइ आयोजनाबाट ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। त्यसमध्ये ५५ हजार हेक्टरमा सतह सिँचाइमार्फत पानी उपलब्ध गराइएको छ। राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले १४ हजार १३८ हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा पुर्याइरहेको छ।
कमला सिँचाइ प्रणाली, भेरी कोरिडोर र बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाका नहर पनि धानबालीका लागि निरन्तर चलिरहेका छन्। बाली लगाउने र उत्पादन गर्ने समयमा किसानलाई पानीको अभाव हुन नदिन निर्माण तथा मर्मतसम्भारका काम बाली भित्र्याएपछि गर्नेगरी कार्यतालिका मिलाइएको विभागले जनाएको छ।
विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार धानबालीको सिजनमा किसानलाई नियमित पानी उपलब्ध गराउनु विभागको प्राथमिकतामा छ। सोहीअनुसार नहर सञ्चालनलाई निरन्तरता दिँदै निर्माणका कामलाई अनुकूल समयमा अघि बढाउने व्यवस्था गरिएको छ।
यसैबिच पछिल्लो समय विभिन्न क्षेत्रमा नयाँ सिँचाइ सुविधा पनि विस्तार गरिएको छ। पोखरा ९ (कास्की) अन्तर्गत ३५ हेक्टर, भेरी करिडोरमा १० हेक्टर र विराटनगर क्षेत्रमा तीन हेक्टरमा नयाँ सिँचाइ सुविधा थपिएको महानिर्देशक रजौरियाले जानकारी दिए। सिक्टा र बबई सिँचाइ आयोजनासहित गत भदौ मसान्तसम्म मुलुकभर करिब २०० हेक्टर नयाँ जमिनमा सिँचाइ सुविधा विस्तार भएको विभागले जनाएको छ। सिँचाइ प्रणालीको विस्तार र सञ्चालनले कृषि उत्पादन वृद्धि तथा किसानलाई खेतीपातीमा सहजता पुग्ने अपेक्षा गरिएको छ।
