भोजपुर — केही दिनदेखिको लगातार वर्षा रोकिएर घाम लाग्न थालेपछि भोजपुरका किसान धान भित्र्याउन खेतबारीमा लागेका छन्। पाकेको धान खेतमै पहेँलो भएर बसेको बेला परेको बेमौसमी पानीले काट्ने र थन्क्याउने काम रोकिएको थियो। अहिले आकाश खुलेसँगै किसान बिहान सबेरैदेखि धान काट्ने, मुठा बाँध्ने, घाममा सुकाउने र घर भित्र्याउने काममा व्यस्त छन्।
खेतमा धान पाकिसकेकाले ढिला गरे थप नोक्सान हुने चिन्ता किसानमा छ, त्यसैले उनीहरू अन्य काम थाँती राखेर भित्र्याउने काममा केन्द्रित भएका छन्। कतिपय गाउँमा छिमेकीले एकअर्काको खेतमा पालैपालो सघाएर धान थन्क्याइरहेका छन्।
भोजपुर नगरपालिका–५ का किसान बमबहादुर कार्कीका अनुसार वर्षाले केही दिन काम रोकिए पनि अहिले मौसम सफा भएपछि राहत मिलेको छ। स्थानीय किसान नवराज फुयाँलले सबैले एकैपटक धान भित्र्याउन थालेकाले गाउँमा कामदार पाउन कठिन भएको बताए।
धान भोजपुरको मुख्य खाद्यबाली हो र जिल्लाका नौवटै स्थानीय तहमा यसको खेती हुन्छ। वर्षाका कारण केही बालीमा क्षति पुगेको छ, तर बाँकी उत्पादन जोगाउन किसान लागिपरेका छन्।
