सल्यानको एउटा साधारण परिवारमा जन्मिएका प्रमेश केसी आज अस्ट्रेलियाको पर्थमा तीन वटा व्यवसाय सञ्चालन गरिरहेका छन्। रेस्टुरेन्ट, क्याफे र कन्सल्टेन्सीमा लगानी गरेका उनले वृद्ध तथा अपांगता भएका व्यक्तिको हेरचाह गर्ने सेवामूलक क्षेत्रमा समेत हात हालेका छन्।
घरका कान्छा छोरा प्रमेशका दुई दाजु छन्। बुबा सरकारी विद्यालयका शिक्षक थिए भने आमा गृहिणी थिइन्। माओवादी द्वन्द्वकालमा बुबा गुमाएपछि परिवार संकटमा पर्यो र उनीहरू सल्यान छाडेर नेपालगञ्ज बसाइँ सरे। त्यतिबेला प्रमेश १२ वर्षका थिए।
उनले २०६१ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे। त्यसपछि काठमाडौं आएर सिनामंगलको क्लासिक कलेज इन्टरनेसनलबाट विज्ञानमा प्लस–टू पूरा गरे। त्रिचन्द्र कलेजमा स्नातकको दोस्रो वर्ष पढ्दै गर्दा उनी विद्यार्थी भिसामा बेलायत गए। लन्डनको न्यू लन्डन कलेजमा सूचना प्रणाली विषय पढ्दै उनले हप्तामा २० घण्टा क्याफे तथा रेस्टुरेन्टमा काम गरे।
बेलायतमा विद्यार्थी भिसासम्बन्धी नियम कडा भएपछि उनी नेपाल फर्किए। करिब ६ महिनापछि आफन्तको सहयोगमा सीपका आधारमा प्रायोजन भिसा लिएर सन् २०१४ मा अस्ट्रेलिया पुगे। त्यहाँ उनले दुई वर्ष सेफका रूपमा काम गरे र स्थायी बसोबासको अनुमति पाए।
तीन वर्ष काम गरेपछि उनले कन्सल्टेन्सीमा लगानी गरे। सन् २०१९ तिर सुरु गरेको क्लिनिङ व्यवसाय कोभिड महामारीका कारण करिब तीन वर्षपछि बन्द गर्नुपर्यो। घाटा बेहोरे पनि उनले हार मानेनन्। त्यसपछि साझेदारीमा पर्थमा रहेको ‘द भट्टीबार’ नेपाली रेस्टुरेन्ट तथा बारमा लगानी गरे। यो पर्थमा नेपाली परिकार पाइने पहिलो रेस्टुरेन्ट तथा बार हो। शुक्रबार र शनिबार त्यहाँ लाइभ म्युजिक हुन्छ भने मुख्य ग्राहक नेपाली, भुटानी, अमेरिकी र स्थानीय छन्।
‘यहाँ व्यवसायका अवसर छन्। मेहनत गर्नुपर्छ, त्यसपछि राम्रो गर्न सकिन्छ,’ प्रमेश भन्छन्। आगामी दिनमा व्यवसाय अझै विस्तार गर्ने र नेपालमा समेत लगानी गर्ने उनको योजना छ।
