१७ कात्तिक, काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले क्यालिफोर्नियाका करिब २० हजार मतपत्र गणनाबाट अलग राख्न ट्रम्प प्रशासनले गरेको माग अस्वीकार गरेको छ। मध्यावधि निर्वाचन हुनुभन्दा एक दिनअघि आएको यो आदेशसँगै ती मतपत्रको गणना रोक्ने प्रशासनको प्रयास असफल भएको छ।
अमेरिकी न्याय मन्त्रालयले ती मतपत्रमा गैरनागरिक मतदाताको मत परेको हुनसक्ने दाबी गर्दै नागरिकता प्रमाणित नभएसम्म गणना नगर्न माग गरेको थियो। मन्त्रालयले गत महिना क्यालिफोर्नियाको मतदाता सूचीमा करिब २० हजार गैरनागरिक रहेको दाबी गरेको थियो। तर क्यालिफोर्नियाका निर्वाचन अधिकारीहरूले संघीय सरकारलाई राज्यको निर्वाचनमा हस्तक्षेप गर्ने अधिकार नभएको भन्दै उक्त दाबीको खण्डन गरेका थिए।
तल्ला अदालतहरूले पनि प्रशासनको माग अस्वीकार गरेका थिए। पुनरावेदन अदालतले दुई पटक प्रशासनको पक्षमा फैसला नगरेपछि प्रशासन सर्वोच्च अदालत पुगेको थियो। सर्वोच्च अदालतले विस्तृत कारण नखुलाई एक वाक्यको आदेशमार्फत निवेदन खारेज गरेको हो। आदेशमा न्यायाधीश एलिना कागनसमक्ष पेस गरिएको निषेधाज्ञासम्बन्धी निवेदन पछि पूर्ण अदालतमा पठाइएको उल्लेख छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा व्यापक निर्वाचन धाँधली हुने र डेमोक्रेटिक पार्टीले आप्रवासीलाई अवैध रूपमा मतदान गराएर निर्वाचन प्रभावित पार्ने आरोप लगाउँदै आएका छन्। उनले हुलाकमार्फत हुने मतदानमाथि पनि पटक–पटक प्रश्न उठाएका छन्। तर विभिन्न अध्ययन तथा राज्यस्तरीय लेखापरीक्षणले गैरनागरिकसहित मतदानका लागि अयोग्य व्यक्तिले मतदान गर्ने घटना दुर्लभ रहेको देखाएका छन्।
क्यालिफोर्नियामा करिब दुई करोड ६० लाख मतदाता दर्ता छन्। अमेरिकी प्रतिनिधिसभामा सबैभन्दा बढी ५२ सिट रहेको यो राज्यको निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा पनि महत्व राख्छ।
