सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणालीमा बिना अनुमति छिरेर ठेक्कासम्बन्धी रकममा चलखेल गरेको आरोपमा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं उपत्यकाका छुट्टाछुट्टै ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार आर्थिक प्रस्ताव खोलिनुअघि नै त्यससम्बन्धी कागजातमा हेरफेर गर्ने गरिएको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदा तीन जना पक्राउ परेका हुन्। पक्राउ परेकाहरूको परिचय भने सार्वजनिक गरिएको छैन।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सञ्चालन गर्ने विद्युतीय खरिद प्रणालीमार्फत सरकारी निकायहरूले ठेक्का आह्वान गर्छन् र ठेकेदार कम्पनीहरूले अनलाइनमार्फत नै प्रस्ताव बुझाउँछन्। आर्थिक प्रस्ताव तोकिएको समयमा मात्र खोलिने व्यवस्था हुन्छ, त्यसअघि त्यसमा छेडछाड हुनुले खरिद प्रक्रियाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।
यस प्रकरणमा यसअघि पनि विभिन्न कम्पनीका ठेकेदारहरू पक्राउ परिसकेका छन्। ब्युरोले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
