गण्डकी प्रदेशको प्रमुख यातायात मार्गका रूपमा रहेको पोखरा–मुग्लिन सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ। पृथ्वी राजमार्गअन्तर्गत पर्ने यो सडक फराकिलो भएपछि पोखरा र काठमाडौंबीचको यात्रा सहज हुने अपेक्षा गरिएको छ।
आयोजना कार्यालयका अनुसार पश्चिम खण्ड अर्थात् पोखरा–जामुने भागको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ। उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले आगामी मङ्सिरभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार झण्डै पाँच किलोमिटर सर्भिस लेन कालोपत्र गर्न बाँकी छ भने सडकमा रेखाङ्कन, ट्राफिक चिह्न र सुरक्षासम्बन्धी काम धमाधम भइरहेको छ।
पूर्वी खण्ड अर्थात् जामुने–मुग्लिन भागको काम भने पूरा भइसकेको छ। उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको छ र त्रुटि सच्चाउने अवधि सुरु भएको छ। हस्तान्तरणपछि पनि एक वर्ष त्रुटि सच्चाउने र त्यसपछि पाँच वर्षसम्म मर्मतसम्भारको जिम्मा निर्माण कम्पनीकै रहनेछ।
कूल ४१ दशमलव ४५ किलोमिटर लामो पूर्वी खण्डमा दमौली र डुम्रे बजार क्षेत्रमा करिब दुई किलोमिटर सडक छ लेन र बाँकी भाग चार लेनमा विस्तार गरिएको छ। यस खण्डमा साना–ठूला गरी १७ वटा पक्की पुल बनेका छन्।
पश्चिम खण्ड ३८ दशमलव ८८ किलोमिटर लामो छ। यसमा १८ दशमलव ५ किलोमिटर सडक छ लेन र बाँकी चार लेनमा निर्माण भएको छ। यस खण्डका १३ पुलमध्ये १२ वटा बनिसकेका छन्। पोखराको सेती नदी र तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ।
विसं २०७८ वैशाखदेखि सुरु भएको यो आयोजनामा पूर्वी खण्ड चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले रु छ अर्ब २१ करोड ३१ लाखमा र पश्चिम खण्ड यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले रु सात अर्ब ४० करोड ४६ लाखमा निर्माण गरेका हुन्। कूल ८१ किलोमिटर लामो सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार गरिएको हो।
सडक फराकिलो भएपछि पोखरा आउजाउ गर्दा धुलो र हिलोमा घण्टौं यात्रा गर्नुपर्ने बाध्यता अन्त्य भएको छ। यसले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
