काठमाडौंका विभिन्न ठाउँमा लुकेर गैरकानुनी रूपमा बस्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणको संयुक्त टोलीले सोमबार साँझ उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूमा बङ्गलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी र अकम अब्ल्लाह छन्। उनीहरूसँगै बङ्गलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा पनि नियन्त्रणमा परेका छन्। प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको छ।
रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्दा नौ जना बङ्गलादेशी नागरिकका १४ थान राहदानी भेटिएका छन्। त्यही कोठाबाट ठूलो रकमको आर्थिक लेनदेनको विवरण लेखिएका दुई थान डायरी समेत फेला परेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा परेका जाहिंगिर आलममाथि एक जना बङ्गलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको पनि खुलेको छ। उनी २०८० चैत १३ गतेदेखि उक्त मुद्दामा अदालतमा तारिख धाइरहेका छन्।
पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि अध्यागमन विभागको जिम्मा लगाइएको छ। उनीहरू काठमाडौंमा कहिलेदेखि र कुन उद्देश्यले बस्दै आएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
