काठमाडौँ । ऋण उठ्तीबाट जुटेको रकमबाट समस्याग्रस्त सहकारीका १२२ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिक गरेको विवरणअनुसार सात वटा समस्याग्रस्त सहकारीका सदस्यलाई रकम फिर्ता गरिएको हो ।
समितिका अनुसार नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीका २३ जना बचतकर्ताको पूरा बचत फिर्ता भएको छ । त्यस्तै कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालिगुराँस बहुउद्देश्यीय सहकारीका ९९ जना बचतकर्तालाई आंशिक रूपमा बचत फिर्ता गरिएको छ ।
समितिले समस्याग्रस्त सहकारीबाट ऋण असुली गरेर प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै रकम जम्मा गरेका बचतकर्तालाई प्राथमिकता दिइएको समितिले जनाएको छ । त्यसपछि बचतकर्ताको रकमको आकारका आधारमा वर्गीकरण गरी क्रमशः फिर्ता गरिने बताइएको छ ।
समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने काम प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर रूपमा भइरहेको समितिले जनाएको छ ।
