दाङ — तिहार र दीपावली नजिकिँदै गर्दा दाङमा सयपत्री फूलको व्यावसायिक खेतीतर्फ किसानको आकर्षण उल्लेख्य रूपमा बढेको छ। व्यक्तिगत प्रयासदेखि सहकारी र ठूला फार्मसम्मले यस वर्ष सयपत्री रोपेका छन्, जसले जिल्लालाई फूलमा आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ।
तुलसीपुरका कलाकार प्रेम विवश घर्तीले अन्य चार जनाको साझेदारीमा तुलसीपुर उपमहानगरपालिका–१७ को जिनुवागाउँमा सामूहिक रूपमा सयपत्रीखेती सुरु गरेका छन्। उनीहरूले सुगन्धित कृषि समूहमार्फत पाँच कट्ठा जमिनमा ‘कर्म ५५५’ जातका करिब दुई हजार चार सय बिरुवा रोपेका छन्। मल्चिङ, कालो प्लास्टिक, विषादी र खेत तयारीमा झन्डै एक लाख रुपैयाँ लगानी भएको समूहका संयोजक सुमन गिरीले बताए। पाँच कट्ठाबाट करिब १० क्विन्टल फूल उत्पादन हुने अनुमान छ भने तिहारअघि नै एक क्विन्टलभन्दा बढीको अग्रिम बुकिङ आइसकेको छ।
सहकारी क्षेत्र पनि यसमा अग्रसर छ। तुलसीपुर–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाले वनकट्टामा एक बिघा जग्गा पाँच वर्षका लागि भाडामा लिएर व्यावसायिक खेती गरेको छ। संस्थाकी अध्यक्ष चित्रा धितालका अनुसार कट्ठाको वार्षिक दुई हजार रुपैयाँका दरले जग्गा लिइएको हो र बीउ तथा खेत तयारीमा तीन लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। सहकारीले १२ लाखदेखि १६ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखेको छ। टिकटक र फेसबुकमार्फत प्रचार गर्दा विभिन्न ठाउँबाट माग आइरहेको धितालले बताइन्।
यसैगरी तुलसीपुर–१५ पहरुवामा सञ्चालित ग्रिनसिटी बहुउद्देश्यीय कृषि, मत्स्य तथा पशुपन्छी फार्मले पहेँलो र सुन्तले रङका ताजा सयपत्री फूल तथा माला थोक र खुद्रा दुवै मूल्यमा बिक्री सुरु गरेको छ। फार्मका सञ्चालक आशिष बिसीका अनुसार आधुनिक प्रविधि र उचित स्याहारले फूल लामो समयसम्म ताजा रहन्छन्। स्थानीय उत्पादन स्थानीयस्तरमै खपत हुनुपर्ने सन्देशसहित भइरहेको यस प्रयासले दाङलाई फूलमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
