काठमाडौं । सम्पत्ति शुद्धीकरणको मुद्दामा थुनामा रहेका दीपक भट्टले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त निवेदनमाथि छलफल भइरहेको छ ।
भट्टका बाबु चतुर्भुज भट्टले छोरालाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । यसअघि गत कात्तिक १३ गते सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा परेको यो निवेदन हेर्न नभ्याइने सूचीमा राखिएको थियो ।
विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्टलाई असार ३ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । सोही दिन सुलभ अग्रवाललाई पनि थुनामा पठाउने आदेश भएको थियो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवै जनालाई थुनामा राख्ने निर्णय गरेको थियो ।
त्यस निर्णयविरुद्ध असोज ७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो । त्यसको भोलिपल्ट असोज ८ मा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विशेष अदालत, प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोलगायत विपक्षीका नाममा तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
