दाङको देउखुरी उपत्यकामा सञ्चालनमा रहेको प्रगन्ना सिँचाइ प्रणालीले अहिले ५८ हजार हेक्टर खेतीयोग्य जमिनमा पानी पुर्याइरहेको छ। लमही नगरपालिका र राप्ती गाउँपालिकाका विभिन्न बस्तीमा सिँचाइ सेवा पुर्याउने यो आयोजनाले तीन वटा इन्टेकमार्फत पानी वितरण गरिरहेको छ। आयोजनाको व्यवस्थापन अहिले सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले गरिरहेको छ।
विसं २०५५ मा सुरु भएको यो परियोजनाको पहिलो चरणको निर्माण कुवेत फण्डको सहयोगमा विसं २०६४ मा सकिएको थियो। त्यसयता सिञ्चित क्षेत्रको आधुनिकीकरण, विस्तार र संरक्षणका काम निरन्तर भइरहेका छन्। आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा नहर निर्माण, सिञ्चित क्षेत्रको बचावट र तटबन्ध निर्माणका काम भएका छन्। सो अवधिमा मौरीघाट शाखा नहरअन्तर्गत ४२२ मिटर बारीकुलो र बाराखुट्टी शाखा नहरअन्तर्गत ३६६ मिटर वीरघाट कुलो निर्माण सम्पन्न भएको छ।
केरोनिया गाउँ क्षेत्रको बस्ती र खेतीयोग्य जमिन जोगाउन ६४४ मिटर तटबन्ध बनाइएको छ भने लमही नगरपालिका–२ को रनियापुर क्षेत्रमा २८८ मिटर तटबन्ध निर्माण सम्पन्न भएको छ।
विस्तारतर्फ लमहीका विभिन्न वडामा पर्ने सतपेरिया क्षेत्रको एक हजार २०८ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने पूर्वतयारीका काम पूरा भएका छन्।
आर्थिक वर्ष २०७२/०७३ देखि गुरुयोजनाअनुसार काम भइरहेको आयोजनामा सम्झौता भएका कूल १८ वटा मुख्य ठेक्कामध्ये १७ वटा सम्पन्न भइसकेका छन्। आयोजनाका लेखा अधिकृत नवराज वलीका अनुसार सम्पन्न ठेक्काअन्तर्गत राप्ती नदीको दायाँ किनारमा तटबन्ध निर्माण, मौरीघाट, बाराखुट्टी र भिप्रिया कुलोको नहर लाइनिङ तथा रसिनियापुर, भानपुर र अगैयापुरलगायतका गाउँ बचावटका काम परेका छन्। लमही–२ रसिनियापुर क्षेत्रको सिञ्चित क्षेत्र बचावटको ठेक्काको काम भने जारी छ र करिब ७५ प्रतिशत काम पूरा भइसकेको छ।
निर्माण कार्यको गुणस्तर कायम गर्न आयोजनाले आफ्नै प्रयोगशाला सञ्चालन गर्दै आएको छ। आर्थिक वर्ष २०७८/०७९ देखि प्रयोगशालामार्फत ग्याबियन तार, फिल्ड डेन्सिटी र कङ्क्रिटका गुणस्तर परीक्षण हुँदै आएका छन् भने गत आर्थिक वर्ष २०८१/०८२ मा नयाँ भवन निर्माणसँगै थप उपकरण खरिद गरिएको छ। यो प्रयोगशालाबाट सोही क्षेत्रका अन्य निकाय, स्थानीय तह र निर्माण व्यवसायीले समेत निर्माण सामग्रीको गुणस्तर परीक्षण सेवा पाइरहेका छन्।
